एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्तरघात भएको ठहर गर्दै छानबिन गर्ने निर्णय गरेको छ ।बुधबार बसेको पार्टीको सचिवालय बैठकले आफ्नै मतदाताले अरुलाई मतदान गर्दा एमालेका उम्मेद्वार पराजित भएको निष्कर्ष निकाल्दै छानबिन गर्ने निर्णय गरेको हो।
आजको बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।
पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।








