कम्युनिस्ट घटकका ६ दलले आह्वान गरेको आजको नेपाल बन्द काठमाडौं उपत्यका बाहिर असर देखिएपनी उपत्यकामा भने प्रभावहीन देखिएको छ ।काठमाडौका सडकमा निजी र सार्वजनिक सवारीसाधन चलेका छन् । पसल, व्यापार–व्यवसाय पनि सञ्चालनमा छ ।
उपत्यकामा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।
काठमाडौं उपत्यका बाहिर भने नेपाल बन्दको असर देखिएको छ । धेरै जिल्लाहरुमा यातायात र अन्य उधोग र कलकारखानाहरु बन्द रहेका छन ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।










