२००७ सालको क्रान्तिकै जगमा लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली : प्रधानमन्त्री देउबा



आज ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस । १०४ वर्षे निरङ्‍कुस, जहानिया, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना भएको थियो ।२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई नेपालले स्थापित र कार्यान्वयन गर्न गरिसकेको छ । अर्थात मुलुकमा गणतन्त्र स्थापना भइसकेको छ ।

प्रजातन्त्र दिवसका अवसरमा  प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।प्रधानमन्त्रीले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

देउवाले भनेका छन्, वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ। राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ। यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२(६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७८ शनिबार  १० : ५६ बजे