मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कार्यकर्ताले कमिसन माग्दै आक्रमण गरेपछी कांग्रेससहितका दलले गरे जन्तेढुंगा बन्दको आह्वान



खोटाङको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले बन्द आह्वान गरेको छ । बुधबार राति ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आह्वान गरेको हो ।

गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै गठबन्धन दलले विज्ञाप्तीमार्फत शुक्रबारका दिन गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघसंस्था बन्द गर्न आह्वान गरेको छ ।एमाले सम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषय निकालेर विवाद गर्दै बस्नेतमाथि बोतल प्रहार गरेर सख्त घाइते बनाएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र विष्टले बताए । बोतल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

एमाले सम्बद्ध चासुम राई, मिलन राई लगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति विष्टले बताए । उनीहरूले एस्काभेटर चलाउँदै आएका कांग्रेस सम्बद्ध तारामान राईसँग सडक निर्माण योजनाबापत १५ हजार कमिसन मागेको विष्टको भनाई छ । एमाले  सम्बद्ध युवा बसिरहेको ठाउँमा बस्नेत बोलाइएका थिए । स्थानीयका अनुसार उनीहरू मादक पदार्थ सेवन गरेर बसिरहेका थिए ।

एमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष रहेको गाउँपालिकामा पाँच वर्षको अवधिमा आफ्नो दलमा आबद्ध व्यक्तिलाई उपभोक्ता समितिमा राखेर कमिसन माग्ने, करारका कर्मचारीमार्फत घुसखोरी गरी भ्रष्टाचार गर्ने, जनतामा त्रास फैलाउने, सर्वसाधारणलाई आतंकित बनाउने काम भएको गठबन्धन दलको ठहर छ ।

एमालेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको विज्ञप्तीमा जनाइएको छ । विरोधमा गठबन्धन दलले संयुक्त विरोधसभा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ९ : १० बजे