मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा नागरिकको अपेक्षाअनुसार हुन सकेन काम



२०७४ साल असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमालेकातर्फबाट मेयरका उम्मेदवार दिपनारायण रिजाल र उपमेयरमा बिणादेवी राई निर्वाचित भए । पहिलोपल्ट कार्यान्वयनमा ल्याइएको संघीयता र चुनावमा बाँडिएको आश्वासनले नगरपालिकाप्रति सर्वसाधारणको अपेक्षा उच्च थियो ।

नगरको नारा नै ‘समाजवाद उन्मुख, सभ्य र समृद्ध नगरस् दिक्तेल रुमवासीको रहर’ तय भयो । तर, नगरपालिकाको पाँच वर्षे कार्यकाल बित्न लाग्दा नागरिकको थोरै अपेक्षा पुरा भए, धेरै अपेक्षा अधुरै छन् । १५ वडा रहेको नगरपालिकामा अहिले अपेक्षित ‘विकास भए’ भन्ने र ‘विकास भएनन्’ भन्ने पक्षको दोहोरी चल्ने गरेकोछ ।

विशेषगरी पाँच वर्षमा उत्पादनमुखी काम नभएको, जनताको जनजीविकासँग सरोकार राख्ने विकास नभएको, भ्यु–टावरजस्ता अनुत्पादक क्षेत्रमा लगानी गरेको नगरपालिकाको आलोचना गर्ने गरिएको देखिन्छ ।यस्तै, कंक्रिट मात्रको योजना सञ्चालन गरिएको, योजना कार्यकर्तामुखी भएको, जनतालाई मागेर योजना लिने अवस्थामा पुर्‍याएको, दिगो र दीर्घकालीन भन्दा पनि सस्तो लोकप्रियताका लागि काम गरेको, उत्पादन र रोजगारलाई जोड्न नसकेको, नागरिकको आर्थिक स्तर उकास्न नसकेको टिप्पणी छ । नगरपालिकाले कतिपय अनावश्यक ठाउँमा खर्च गरेको छाया सरकार प्रमुख कांग्रेस नेता तीर्थराज भट्टराईले बताए ।

निर्वाचनका बेला रिजाल मेयर र उपमेयर राईले ८ पृष्ठको प्रतिबद्धता पत्र बोकेर जनताको घरदैलोमा भोट माग्न पुगेका थिए । रातो कलरको प्रतिबद्धता पत्रमा सबै वडामा टोल टोल, नदी किनारा तथा सडकको दायाँ–बायाँ वृक्षारोपण गरी नगरलाई हरित नगरको रूपमा विकास गर्ने, सबै वडामा कृषि सडक स्तरोन्नति गर्दै एक घर एक कृषि र पशु बिमा कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमा आधारित कृषक सम्मान र कृषक पेन्सन व्यवस्थित गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने भनिएको छ ।

यस्तै, भ्रष्टाचारमुक्त नगर बनाउने, नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने, प्रत्येक वडामा गुणस्तरयुक्त उच्च शिक्षालय, सुकुम्वासी विहीन नगर, गरिबीको रेखामुनि रहेका नागरिकलाई सहुलियत रासन कार्डको व्यवस्था, नगरका राष्ट्रिय स्तरका खेलाडीलाई जीवनवृत्तिको विकास हुनेगरी सुविधा उपलब्ध गराउने, महिला विभेद र हिंसामुक्त नगर, श्रमको सम्मान र श्रमिक मजदुर कल्याणकारी कोषको स्थापना गर्ने लगायतका बुँदा उल्लेख छ । तर प्रतिबद्धता–पत्र अनुसार काम कम भएको नागरिक समाजका अगुवा हरि राजभण्डारी बताउँछन् ।

खोटाङमा १० स्थानीय तह छन् । त्यसमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भौगोलिक रूपमा सवैभन्दा ठूलो स्थानीय तह हो । अपेक्षित परिवर्तन ल्याउन सकेको भन्दै टिप्पणी भइरहँदा नगरपालिकाले भने नागरिकको अपेक्षा पुरा हुनेगरी जग बसालिएको बताइरहेको छ ।

पाँच वर्षमा कृषि र बजारको माध्यमबाट जनतालाई रोजगारी दिलाउने काम गरेको दाबी छ । अपेक्षाकृत काम गर्न नसकिए पनि सुरुवात गरिएको र कतिपय योजनाको रिजल्ट तत्काल नभएर भविष्यमा हात पर्ने मेयर दिपनारायण रिजालले बताए ।बुईपामा यलम्बरको प्रतिमा सहितको पार्क निर्माण, दिक्तेलको माटिकोरेस्थित फुटबल स्टेडियम, अस्पताल चोकमा गेट निर्माण लगायतका योजना पुरा गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

कांग्रेसका उम्मेदवार राजनसेर राईले ४ हजार ७१८ मत ल्याउँदा रिजालले ५ हजार ३४३ मत ल्याएर नगरपालिकाको मेयरमा चुनिएका थिए । यस्तै, माओवादी केन्द्रका उम्मेदवार होमकाजी आचार्यले ४ हजार ६२७ मत ल्याउँदा राईले ५ हजार ३६७ मत ल्याएर उपमेयर निर्वाचित भएकी थिइन् । कुल मतदाता २६ हजार २८३ रहेको नगरमा १७ हजार ४२ मत खस्दा ३३४ मत बदर भएको थियो ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : २७ बजे