मनाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना



यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा मुख्य निर्वाचन अधिकृतसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।जिल्लाको चामे गाउँपालिका पनि हेर्नेगरी बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लामा अन्य तीन वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला अदालत मनाङको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन गराउनका लागि कार्यालय प्रतिबद्ध रहेको बताएका छन् ।

उहाँ भन्नुहुन्छ, “हामीसँगै सबैले आआफ्नो क्षेत्रबाट निर्वाचनमा सहयोग गर्न जरुरी छ । सबैको सहयोगको अपेक्षा गरेका छौँ”, जिल्लाका अन्य तीनवटै पालिकामा पनि बिहीबारै निर्वाचन कार्यालय स्थापना गरिएको उनले बताए । शान्त र भयरहित तरिकाले निर्वाचन गराउनका लागि प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए ।

निर्वाचनमा सहभागी सबैको सुरक्षाको प्रत्याभूति हुनेगरी जिल्लामा सुरक्षा योजना बनाएको उनले बताएका छन् । निर्वाचन आयोगले जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाललाई जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । आयोगले नासों गाउँपालिकाका लागि जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडू, नार्पाभूमि गाउँपालिकाका लागि सरकारी वकिल कार्यालयका दिनेशकुमार रेग्मी र ङिस्याङ गाउँपालिकाका लागि सरकारी वकिल कार्यालयका केदारनाथ उपाध्यायलाई निर्वाचन अधिकृत तोकेको छ ।

जिल्लाको चारवटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृत कार्यालयमा आवश्यक सुरक्षार्थका निकायहरु खटाइसकेको छ । निर्वाचनका लागि जिल्लामा २०० कर्मचारी खटाइनेछ ।

प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार  ४ : १२ बजे