निर्बाचन आयोगलाई एमालेका मेयरको धम्की – आचार संहिता उल्लंघन गरेको छु, कारबाही गरेर देखाए हुन्छ



रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कारबाही गर्न निर्वाचन आयोगलाई खुुला चुनौती दिएका छन् ।

नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा एमाले उमेदवार मोहन चापागाई र जागेश्वरीदेवी चौधरीकोे प्रचारमा खटिएका घिमिरेले भने– ‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटिको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ ।’

तिलोत्तमामा एमालेका प्रमुख उपप्रमुख उमेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको बताए ।

उनले थप भने–‘म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटिमा छु, कसैले यसले आचारसंहिता उल्लंघन गर्‍यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’

पत्रकार सम्मेलनमा उनले आफरूले गरेका राम्रा कामको प्रचार नगरिदिएर आलोचना गरेको भन्दै पत्रकारहरूप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले चुनावमा उमेदवार बनेका प्रतिस्पर्धीहरूको समेत आलोचना गर्दै तिलोत्तमामा चुनाव जित्ने सपना नदेख्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : बैशाख १९, २०७९ सोमबार  १ : १५ बजे