मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै निर्बाचन क्षेत्रमा ओलिको बिजोक, चार पालिका मध्ये एकमा मात्र एमालेको अग्रता



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, झापा-५ , यहाँ चारवटा पालिका छन् । जसमा दुई गाउँपालिका र दुई नगरपालिका छन् ।२०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमालेले कमल र दमक जितेको थियो । यसपटक भने एमाले एउटा स्थानीय तहमा मात्र अग्रस्थानमा छ । अन्य स्थानीय तहमा भने दोस्रो स्थानमा छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ का पालिका प्रमुखहरूमा एमाले विगतको तुलनामा कमजोर देखिएको छ । दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका रामकुमार थापा अगाडी छन् । यहाँ एमालेकी गीता अधिकारी दोस्रो स्थानमा छ । कमल गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट कांग्रेसका हुकुमसिंह राई मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा छन् ।

गौरीगञ्जमा गठबन्धनविनै चुनावी प्रतिस्पर्धा भइरहेको छ । यहाँ अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशीले अग्रता लिइरहेकी छन् । अघिल्लो पटक गौरादह नगर प्रमुख जितेको कांग्रेसले पछिल्लो मत गणनामा अहिलेसम्म दोस्रो स्थानमा छ । गौरादह नगर प्रमुखमा एमालेका छत्रपति सुवेदीले अग्रता लिएका छन् । कांग्रेसका रोहित साहले उनलाई पछ्याउँदै छन् ।

दमकमा गणना भइसकेका वडा नम्बर १ , २ र १० मध्ये दुई वडामा एमालेले जित निकालेको छ भने एउटामा संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा एमालेका हरि न्यौपाने, २ मा प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका छन् भने १० मा कांग्रेसका राजेन्द्र भण्डारी विजयी भएका हुन् ।

त्यस्तै गौरादहको वडा नम्बर १ मा एमालेका नगेन्द्र भण्डारी र २ मा गठबन्धनका तर्फबाट कांग्रेसका गोपाल कोइराला वडाध्यक्षमा विजयी भएका छन् । कमलका ३ वडामा गणना सकिँदा एउटा वडामा एमाले र दुई वडामा गठबन्धनले जित हासिल गरेको छ । वडा नम्बर १ मा गठबन्धनका केदार कटुवाल , २ मा एकीकृत समाजवादीका अशोक लिम्बु र ३ मा एमालेका अग्नि कोइरालाले वडाध्यक्ष पद जितेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : २७ बजे