प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन : बद्री पाण्डे



नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा आजआयोजित विशेष भेलामा उनले स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने बताएका हुन् ।

“स्थानीय तहको निर्वाचनमा गठबन्धन फितलो हुनु, टिकटमा न्यायोचित वितरण नहुनु, आफूले टिकट नपाउँदा अन्तर्घात हुनेजस्ता प्रवृत्ति देखियो, स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर कांग्रेस पहिलो शक्ति बन्छ”, उनले भने । सहमहामन्त्री पाण्डेले पाँच दलीय गठबन्धनलाई प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्म लैजानुपर्ने बताए । स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर गठबन्धनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको उल्लेख गरे । पार्टीभित्र नीतिगत सुधारको खाँचो रहेको सहमहामन्त्री पाण्डेको भनाइ थियो । सहमहामन्त्री पाण्डेले लोकतन्त्रलाई बलियो बनाउन आवधिक निर्वाचन आवश्यक रहेको भन्दै पार्टीभित्रका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने बताए ।

प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार  ८ : ३२ बजे