प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित हो, तयारी हुदैछ : परराष्ट्र मन्त्रालय



परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय मन्त्रालयलाइ प्राप्त भएको र सरकारको निर्णयलाई कूटनीतिक माध्यमबाट पत्राचार गर्ने बताएकि छन् ।

परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई गर्ने पत्राचारका बारेमा अध्ययन भइरहेको जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको बताइन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिरहेको जानकारी दिएकी उनले भ्रमण मितिको टुंगो लाग्न भने बाँकी रहेको बताइन् ।

यसैबीच प्रवक्ता सेवा लम्सालले कोरोनाभाइरस संक्रमणका कारण अध्ययन बीचमै छाडेर नेपाल फर्किएका विद्यार्थी अध्ययनलाई निरन्तरता दिन पुनः चीन जान पाउने जानकारी दिइन् । नेपाल फर्किएका ८५० विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जनालाई चीनले मंगलबार लैजाने उनले बताइन् ।

प्रकाशित मिति : असार १९, २०७९ आइतबार  ४ : ३९ बजे