मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खसी भनेर बाख्राको मासु बिक्री



खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा ९टोल फ्रि नम्बर०मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो ।

हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो भने बाख्राको मासु पनि खसीको मूल्यमा बिक्री गर्ने गरेको पाइएको थियो ।

विराटगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ । अनुगमन टोलीले बाख्राको मासु जपत गेर तत्कालै नष्ट गरेको थियो । त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्मले पाँच महिनादेखि डिप फ्रिजमा राखेको माछा गन्हाएको अवस्थामा फेला परेको छ । पसलका कर्मचारीले समेत पाँच महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए ।

यस्तै, महानगरले पुरानो गुद्रीमा अनुगमनका क्रममा पुग्दा अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश व्यापारी पसल बन्द गरेर भागेका थिए । सोही टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायत स्थानमा सञ्चालित करिब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको थियो । खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टरलगायतका पसलका फ्रिजभित्र गन्हाएको मासु फेला परेको थियो ।

टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो । टोल फ्रि ९हट लाइन०मा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछा–मासुको पसल अनुगमन गरेको महानगरका प्रमुख कोइरालाले बताए । उनले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको जानकारी दिए ।

“हट लाइनमा धेरै नै गुनासो आएपछि म आफैँ अनुगमन निस्किएको हुँ, उपभोक्तााले गुनासो गरेजस्तै नै रहेछ अवस्था”, उनले भने, “एकपटकलाई हामीले सचेत गराएर छाडेका छौँ, केहीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छौँ । फेरि पनि त्यस्तै भेटिए पसल नै शिल गर्छौं ।”

केही पसलले मासुमा स्वास्थ्यका लागि हानिकारक रङसमेत प्रयोग गर्ने गरेको भेटिएको थियो । त्यस्ता मासुको अनुगमन टोलीले तत्कालै छाला निकाल्न निर्देशन दिएको थियो । प्रमुख कोइरालाले अब फेरि रङ दलेको भेटिए पसल नै शिल गर्ने चेतावनी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १२ : १५ बजे