मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङको जन्तेढुंगा र बराहपोखरीमा नमूना मतदान



२१ कात्तिक, खोटाङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय खोटाङले जन्तेढुंगा र बराहपोखरी गाउँपालिकामा नमूना मतदान गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई मतदान गर्ने विधिका बारेमा जानकारी दिँदै मत बदर हुनबाट जोगाउनका लागि निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमुना मतदान गरेको हो । जन्तेढुंगा गाउँपालिकामा १३५ मत खसेकामा पाँच मत बदर भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । यस्तै, बराहपोखरी गाउँपालिकामा १६० मत खसेकामा १२ मत बदर भएको छ ।

नमूना मतदानका क्रममा महिला, पुरुष र अशक्तको छुट्टाछुट्टै लाइन बनाएर मतदाता परिचयपत्र तथा मतदान अधिकृतको हस्ताक्षर रुजु गर्दै गोप्य कोठामा मत हाल्ने व्यवस्था मिलाइएको थियो । नमूना मतदानका क्रममा सर्वसाधारणलाई स्वस्तिक छाप लगाउन र मतपत्र पट्याएर मत पेटिकामा खसाल्ने विधि लगायतका विषयमा जानकारी दिइएको छ ।

नमूना मतदानलाई स्थानीयबासिन्दाले आगामी निर्वाचन अघि मतदान गर्ने अभ्यासकारुपमा लिएका छन् । नमूना मतदानले मतदातामा मतदान सम्वन्धी अलमल हट्ने दाबी गरिएको छ । आगामी निर्वाचनका लागि अभ्यास गर्ने अवशरकारुपमा नमूना मतदानमा स्थानीयको उत्साहपुर्ण सहभागिता थियो ।

स्थानीय तहको निर्वाचनमा सात चुनाव चिन्हमा मत हालेका मतदनाताले नमूना मतदानमा पनि सात वटै ठाउँमा मत हाल्न खोज्दा बदर मत खसेको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

‘स्थानीय तहको निर्वाचनमा सात चिन्हमा मत हालेका थिए । कोही कोहीले त्यस्तै कन्सेप्ट राखेको देखियो,’ गौतमले भने, ‘मतदान प्रकृया कस्तो हुन्छ रु मतपत्रको प्रकार, त्यसको रंग बारे जानकारी गराइएको छ । कस्तो अवस्थामा मत बदर हुन्छ भनेर बक्स खोलेर देखाइएको छ ।’

खोटाङबजार, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि नमूना मतदानको तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । सम्भव भएसम्म जिल्लाका १० वटै स्थानीय तहमा नमूना मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : १८ बजे