काठमाडौँ, ८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकि छन् । भारत सरकारका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग आज नयाँदिल्लीमा भएको छलफलमा उनले सो आग्रह गरेकि हुन् ।
“नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्”, सरकारका प्रवक्ता शर्माले भनिन्, “दुवै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्दछु ।”
नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकाप्रति ध्यानाकर्षण गराउँदै उनले त्यसमा दुवै देशका सेवाप्रदायक र नियामक सजग हुनुपर्नेमा जोड दिइन् ।
भारतीय टेलिभिजन च्यानल नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानल भने भारतमा प्रसारण हुन कठिन रहेकातर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भनिन्, “भारतमा नेपाली भाषीको ठूलो सङ्ख्या रहेकाले नेपाली च्यानलको सहज प्रसारण हुने वातावरण मिलाइदिन म विशेष आग्रह गर्दछु ।” उनले विशेषतः नेपाली च्यानल भारतमा डाउनलिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने गरेकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश दिन आग्रह गर्नुभएको सञ्चार मन्त्रालयले जनाएको छ ।










