काठमाडौँ, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए । उनीहरुसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताए।प्रधानमन्त्री प्रचण्डले भोलिसम्म उच्चस्तरीय समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मिटरब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताए।
तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ । अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ । शुक्रबार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने जानकारी दिएका थिए ।














