काठमाडौं । मस्तिष्क मृत्युपश्चात हुने अंगदानलाई कानूनी रुपमा सहज बनाउन सरोकारवालाले आग्रह गरेका छन् । आइतबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको सहकार्यमा आयोजनामा गरिएको मस्तिष्क मृत्युपछि हुने अंगदानमा कानूनी तथा व्यवहारिक जटिलता विषयक अन्तरक्रियामा सहभागी सरोकारवालाले यस्तो आग्रह गरेका हुन् ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले नेपालमा कानून आएको ६ वर्ष भइसक्दा पनि कार्यान्वयन हुन सकेको बताए। जनचेतनाको कमीका कारण मस्तिष्क मृत्युपछि प्रयोग गर्न सकिने अंगहरु खरानी भएर गइरहेको उनले बताए।
अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले व्यवस्था गरेको छ।
सरकारले मस्तिष्क मृत्युपछि अङ्ग दानबाट गरिने प्रत्यारोपणका लागि शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई समन्वय इकाई तोकेको छ । मस्तिष्क मृत्युपछि अङ्ग दान गर्ने व्यवस्था कानूनीमा रुपमा भएपनि आफूहरुले विभिन्न कानूनी जटिलताहरुको सामना गर्नु परेको उक्त इकाई प्रमुख डा कल्पना कुमारी श्रेष्ठले बताइन्। अहिले वर्षमा करिब दुई सय जनाको मिर्गाैला प्रत्यारोपण हुने गरेको उनले बताईन् ।
“जसमा १० जनालाई मिर्गौला र तीन जनालाई कलेजो प्रत्यारोपण गरिएका छ,” उनले भनिन्,“काठमाडौंमा मात्र प्रतिवर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान छ। तर हालसम्म १३ जनाले मात्र प्रत्यारोपणबाट अङ्ग पाएका छन्।”केन्द्रको तथ्याकं अनुसार अहिले १० जनामा एक जनामा मिर्गौलाको रोगी रहेको अनुमान छ । वर्षमा ३ हजार जनाको मिर्गौला फेल हुने गरेको अनुमान छ । मधुमेह रोग बढ्दै गएपछि मिर्गाैला धेरै बिग्रिएको तथ्याकं देखिएको छ ।
उनका अनुसार अन्य अगको पनि प्रत्यारोण गर्ने प्रयास भएपनि अहिले मिर्गाैला र कलेजोको मात्रै भएको छ ।“सर्वप्रथम अंगको दाता चाहियो । अंग दिने र लिने व्यक्ति मात्रै नभएर प्राविधिक सहयोग पनि आवश्यक पर्छ,” उनले भनिन्, “हरेक दिन मस्तिष्क मृत्यु ४ देखि ८ जनाको हुँदै आएको छ । वर्षमा १००० बढीको मस्तिष्क मृत्यु हुँदा पनि हामीले के पायौँ ? भन्ने अवस्था छ ।”
हालसम्म २००० जनाको मिर्गाैला प्रत्यारोपण भएको छ । यसमा जम्मा ५ जना मस्तिष्क मृत्युबाट १० वटा मिर्गाैला र ३ वटा कलेजो मात्रै प्रत्यारोपण गर्न सम्वभ भएको छ । मस्तिष्क मृत्यु भएकाको अहिलेसम्म ३५ देखि ३६ जनाको फोन आएपनि त्यहाँ विभिन्न बाधा भएका कारण सम्भव अंग लिन नसकिएको डा.श्रेष्ठले गुनासो गरिन् ।
उनका अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्युबाट पाउने पर्खाइमा मिर्गौला प्रत्यारोपणका लागि ७७०, कलेजो २५ जना पर्खाईमा रहेका छन् ।
त्रिवि शिक्षण अस्पतालका पूर्व फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले फरेन्सिक विभागमा काम गर्ने स्वास्थ्यकर्मी सबैलाई यस ऐनले गरेको कानूनी व्यवस्था बारे थाहा हुनुपर्ने बताए।
फरेन्सिक विभागले लिखित रुपमा सबै विवरण दिएपछि मस्तिष्क मृत्युपछि अंग झिक्न मिल्ने बताए। उनलेभने,“यसमा समन्वय समिति छ । यसमा धेरै अस्पतालहरुमा समन्वय गर्न पुगेको छैन । समन्वय गर्न कमी भएको छ ।”
समितिले बुझाउने रिपोर्टमा सबै विवरण उल्लेख हुने भएकाले कानूनी अनुसन्धानमा समस्या नआउने उनले बताए।
राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन डा.रुद्र मरासिनीले मतिष्क मृत्युपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समन्वयन समितिमा खबर गर्नुपर्छ भन्ने अस्पतालहरुलाई थाहाँ नै नभएको बताए । उनले भने “ट्रमा सेन्टरमै मस्तिष्क मृत्युपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा खबर गर्नुपर्छ भन्ने मलाई र केही युरो विभागका साथीहरुलाई थाहाँ छ अन्यलाई थाहाँ नै छैन् ।”
मस्तिष्क मृत्यु भएका अस्पतालहरुमा आएमा त्यस विषयमा जनचेतना आवश्यक रहेको उनले बताए । उनले भने,“मस्तिष्कमृत्यु भएमा कानुनी प्रावधान के छ ,विरामीका आफ्न्तहरुलाई कसरी जानकारी दिने विषयमा अस्पतालहरुमा छलफल गर्न आवश्यक छ ।”
कानुनमा मस्तिष्तकपछि अंगदान गर्न सकिने कानुनी व्यवस्था छ । यसका निम्ति छुट्टै समिति बनाएर छलफल गर्न बाँकी रहेको उनले जानकारी दिए।
वरिष्ठ न्यूरो सर्जन डा.वसन्त पन्तले कुनै नयाँ कुरा आउँदा त्यसलाई पाँच पटकसम्म भन्नुपर्छ रे तर मानिसलाई मस्तिष्कपश्चात गरिने अंगदानका बारेमा दोहोर्याउँने काम नभएको बताए । उनले भने,“मान्छेले यसलाई ग्रहण गर्न नसकेको कुरा त्यही कुरालाई दोहो¥याउने काम हुनुपथ्यो त्यो भएन ।”
डा. पन्तका अनुसार ब्रेनडेथ चाँहि मृत्यु हो । भन्ने कुरा स्वीकार्न समाजले सकेको छैन । उनले भने,“मान्छेलाई एउटा भ्रम के छ भने अहिले अंग दान गर्दा पछि अर्को जुनिमा जन्मिदा अंग हुदैन् भन्ने भ्रम व्यापक छ ।”मृत्यु हुने ठाउँ परिवर्तन भएको छ । मृत्यु स्वीकार गर्न सक्नुपर्छ । धर्मको विषयमा भएका बुझाइलाई विश्वत पार्न धार्मिक गुरुहरुहरुलाई अंगदानका विषयमा बुझाउँन जरुरत रहेको उनको भनाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाका अनुसार मस्तिष्क मृत्युपश्चात हुने अंगदानको काम अझै सहज भईसकेको छैन् । उनले यसलाई सहजीकरण गर्नका लागि मन्त्रालयको तर्फबाट बजेट र अन्य प्रतिवद्धताको कमी नहुने बताए।उनले भने,“मान्छेमा ब्रेनडेथ भएपछि अंग दिनुपर्छ भन्ने कुरा बिस्तारै कार्यान्वयनमा आउँछ । धेरै गराउनेलाई बुझाइ बढाउनु पर्ने हुन्छ । नीतिमा भन्दा पनि जो यो क्षेत्रमा काम गर्छ त्यसले धेरै काम गर्नुप¥यो ।”
त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.पवन चालिसेले मिर्गौला रोगको उपयुक्त उपचारको विकल्प भनेकै प्रत्यारोपण भएको बताए ।निजी अस्पतालका तर्फबाट उपस्थित ग्रिन सिटी अस्पतालका सञ्चालक लोक बहादुर टण्डनले मृतकको परिवारलाई मस्तिष्क मृत्यु सम्बन्धी जनचेतना नभएका कारण बुझाउन गाह्रो हुने गरेको अनुभव सुनाए।
ललितपुर प्रहरी प्रमुख सिद्दि बहादुर शाहीले आफूहरुलाई उक्त ऐन बारे थाहा नभएको बताए । ऐनले व्यवस्था गरेको समितिमा प्रहरीको पनि संलग्नता छ भन्ने थाहा नभएका कारण कानुनी अड्चन आउने गरेको उनको तर्क छ। ‘यो हाम्रो लागि नयाँ विषय नै हो। प्रहरी भित्र यस किसिमको समिति गठन भएको छ भन्ने विषयमा कुरा भएको छैन।’ उनले भने, ‘प्रत्येक जिल्लामा एउटा जाँच बुझ समिति गठन गरे देशभर परिपत्र गर्न सकिन्छ। यसले सहजता पनि हुन्छ । कुनै अस्पष्टता पनि हुँदैन।’
जसमा मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आफू जीवितै हुँदा मृत्यु पश्चात् अङ्ग दान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्यु भएपछि निजको शरीरबाट अङ्ग दान गर्न मञ्जुरी दिएको अवस्थामा मात्र प्रत्यारोपण गर्न सकिने व्यवस्था छ।
कार्यक्रममा कलेजो प्रत्यारोपण विशेषज्ञ डा.रमेश सिंह भण्डारी, नेपाल चिकित्सक संघका महासचिव डा सन्जिव तिवारी लगायतको उपस्थिति थियो।














