काठमाडौँ, २० चैत । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थालेका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गरेका अर्थमन्त्री महतले आज सोमबार नेपाल बैंकर्स सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गरे ।
विभिन्न निकायसँगको छलफलपछि अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता अर्थमन्त्रीले जनाएका छन् । “हाम्रा नीति निर्माता र नियामकको अस्थिरताका कारण सिर्जित भएको मसस्याका कारण पूँजीबजार घटेको हो भन्ने हाम्रो बुझाइ छ । नेपालको पूँजीबजारमा ठूलो सङ्ख्यामा लगानीकर्ता जोडीएकाले उनीहरुको मनोविज्ञान बुझिदिन अर्थमन्त्रीलाई आग्रह गरेका छौँ ।”, अर्थमन्त्रीसँगको भेटबारे पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले भने । अर्थमन्त्री महतले तत्कालका लागि मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाउनुभएको पनि पौडेलले बताए ।
अर्थमन्त्रीको सचिवालयकाअनुसार आज नेपाल बैंकर्स सङ्घसँगको छलफलका क्रममा पनि उनले यो प्रतिबद्धता दोहो¥याएका छन् । “नेपाल बैंकर्स सङ्घसँग बैंकको ब्याजदर, तरलता अभाव र कर्जा असुलीमा देखिएका समस्याका बारे छलफल भएको छ । छलफलका क्रममा अर्थमन्त्री महतले सबै क्षेत्रको सुझाव सल्लाह लिएर अघि बढ्ने बताउँदै आगामी दिनमा सम्बादलाई निरन्तरता दिनेसमेत आश्वासन दिएका छन् ।”, अर्थमन्त्रीको सचिवालयले जनाएको छ । फोरम र बैंकर्स सङ्घसँगको भेटलगत्तै अर्थमन्त्री महतले नेपाल धितोपत्र बोर्डलाई केही दिनभित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न निर्देशनसमेत दिए ।
आजै अर्थमन्त्री महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट समितिको बैठक बोलाएका छन् । गृहमन्त्रीसमेत सदस्य रहने बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सहभागी थिए ।










