अर्थतन्त्र सुधार भयो, बैंकहरु सुरक्षित : गभर्नर अधिकारी



काठमाडौं, २८ चैत्र । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र सुधारोन्मुख र वित्तीय क्षेत्र सुरक्षित भएको दाबी गरेका छन्।

राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले गत वर्ष शोधनान्तर, चालु खाता घाटा अत्याधिक रहेको भन्दै अहिले यस्तो अवस्था नरहेकोले अर्थतन्त्र सुधारोन्मुख र वित्तीय क्षेत्र सुरक्षित भएको दाबी गरेका हुन्।

उनले बैंक तथा वित्तिय क्षेत्रलाई सानो धक्काले असर नगर्ने र पुँजी पर्याप्तता बढी नै भएको उल्लेख गरे।नेपालका बैंकहरूको औसत पुँजीकोष १३ प्रतिशतभन्दा बढी रहेको भन्दै उनले सानो धक्काले बैंकलाई समस्या नरहने दाबी गरे ।

उनले भने, ‘चालु आर्थिक वर्षमा औसतमा महिनामा एक खर्बको दरले रेमिट्यान्स भित्रिएको छ। गत वर्ष ४ खर्बभन्दा बढीले घाटामा रहेको चालु खाता ४४ अर्बले घाटामा छ। शोधनान्तर करिब डेढ खर्बले बचतमा आएको छ।’

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको बताए । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २८, २०७९ मंगलबार  ३ : २१ बजे