राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान



काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाइए विभूषण प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरे ।

राष्ट्रपति पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी सो अवसरमा प्रदान गरे ।

उनले पूर्वप्रधानमन्त्री स्व कोइरालालाई दिइएको नेपाल रत्न उनकी परिवारिक सदस्य किरण कोइरालालाई प्रदान गरे । राजनीतिज्ञ स्व जीवराज न्यौपाने ‘आश्रित’, लाई प्रदान गरिएको राष्ट्र गौरव उनकी धर्मपत्नी माया न्यौपानेलाई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व सत्यमोहन जोशीलाई प्रदान गरे ।

सुप्रसिद्ध प्रबल जनसेवाश्री डा। जगमान गुरुङलाई प्रदान गरियो । समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको थियो ।

मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन् । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।

विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार  ७ : ३५ बजे