मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी



महेन्द्रनगर, १० जेठ । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्र्पकविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात सङ्कलन गरिरहेको छ ।

उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन बचतकर्तालाई सार्वजनिक रुपमै सूचना जारी गरिएपछि एक सातायता प्रहरी कार्यालयमा कागजात पेस गर्नेकोे भीड लागेको छ ।सूचना नै जारी गरेपछि बचतकर्ता धनगढीको जिल्ला प्रहरी, लम्की र अत्तरीयामा प्रहरी कार्यालय पुगेर सहकारीका आवश्यक कागजातसहित निवेदन दिइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । “तीनवटै शाखामा सञ्चालक र कर्मचारीविहीन छन् ।” उनले भने, “सबै बचतकर्ताको निवेदन आइसकेपछि कैलालीमा कति निक्षेप सङ्कलन भएको रहेछ भनेर एकिन जानकारी आउछ ।” प्रहरीका अनुसार मङ्गलबारसम्म धनगढीमा एक हजार भन्दा बढी उजुरी प्रहरीमा आएको थियो ।

त्यसैगरी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा हालसम्म दुई हजार एक सय बचतकर्ताले निवेदन दिइसकेका छन् । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बचतकर्तालाई निवेदन दिन यही जेठ १५ गतेसम्मको समयावधि दिइएको जानकारी दिए।

“सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन गर्दै छ ।” उनले भने–“ कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजातसहित विवरण पेस गर्न भनेका छौँ ।”प्रहरीका अनुसार उक्त सहकारीको महेन्द्रनगर शाखाले मात्रै रु २६ करोड निक्षेप सङ्कलन गरेको बताइएको छ । गत माघयता सहकारी सञ्चालक सम्र्पकबाहिर रहेको सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरी हिँडिसकेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ९ : २१ बजे