काठमाडौं । महा गफाडी नामक रियालिटी शो सुरु हुने भएको छ ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, ढाका टोली प्रोड्क्सनले टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी सो) ‘महागफाडी’ घोषणा गरेको हो । मनोरञ्जनका विविध विधामध्येको एक विधा– वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए । उनले भने, ‘कतिले सजिलै गफाडी उपमा पनि दिँदै आएका छन् । तिनै गफाडी, वाककलाका धनीहरूको खोजी गर्ने एक नवीन प्लेटफर्म हो महागफाडी ।’
यो कार्यक्रममा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले आफ्नो सहभागिता जनाउन सक्नेछन् । आफ्नो मातृभाषामा पनि अडिसन दिन पाइने तथा अवस्था हेरेर कुनै प्रस्तुति पनि दिन पाइने भए तापनि प्राथमिकतामा भने नेपाली भाषालाई नै राखिएको उनले बताए ।
कार्यक्रमको निर्णायकका रूपमा नेपाली हास्यव्यंग्य क्षेत्रमा लामो समयदेखि आफ्नो उपस्थितिले सबैलाई मनोरञ्जन दिइहेका कलाकार शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् । यस्तै, कार्यक्रमलाई अभिनेता कामेश्वर चौरसियाले सञ्चालन गर्नेछन् ।
आफू गफाडी नभएकै कारण कार्यक्रममा जोडिएको निर्णायक तामाङले जानकारी दिए । उनले भने, ‘प्रस्ताव आउँदा म केही अचम्मित भएँ । यद्यपि, कार्यक्रमको ढाँचाले मलाई आकर्षित गर्यो । मेरो लागि यो नयाँ अनुभव हुनेछ ।’
निर्णायककै भूमिकामा रहेकी अभिनेत्री तुलाधरले सबै आ–आफ्नै भाषामा आफ्नो कला देखाउनु पाउनु सुखद रहेको बताइन् । ‘हामीले सोच्ने हास्य प्रहसन भाषिक अस्वतन्त्रताका कारण चाहेजस्तो व्यक्त गर्न पाइँदैन । यसमा सबैले आफ्नै भाषामार्फत प्रस्तुति दिन पाउनेछन् । यो पनि नयाँ प्रयोग हो,’ अभिनेत्री तुलाधरले भनिन् ।
यहाँ नयाँ टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी सो) ‘महागफाडी’ घोषणा गरिएको छ । मनोरञ्जनका विविध विधामध्येको एक विधा– वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए ।