बजेट अभावमा पर्वलक्षित सडक मर्मत भनेजस्तो व्यवस्थापन हुन नसक्ने अवस्था छ : मन्त्री ज्वाला



काठमाडौँ, १७ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत बजेटको अभावका कारण भनेजस्तो व्यवस्थापन हुननसक्ने अवस्था नरहेको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।दसैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला रहेको भन्दै उनले बजेट अभावमा भनेजस्तो व्यवस्थापन हुन नसक्ने अवस्था रहेको बताए ।उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भीर छ । तर बजेट अभावले भनेजस्तो नहुन पनि सक्छ । प्रक्रियागत झमेलाहरू पनि छन् ।’

मन्त्री ज्वालाले भएका स्रोत र साधनको अधिकतम परिचालन गरी दसैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको जानकारी दिए ।उनले भने, ‘भएका स्रोतलाई अत्यधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भीर छ । दसैँअगाडि चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरूका खाल्डाखुल्डी व्यवस्थित गरिसक्छौँ । त्यसैअनुसार हामीले निर्देशन दिइरहेका छौं ।’

उनले दसैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने पनि जानकारी दिए । उनले जथाभाबी भाडा लिएर यात्रुलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने पनि बताए ।उनले भने, ‘यातायात कार्यलयसँग समन्वय गरेर टिकटको अग्रिम बुकिङ खुला गर्ने यो सबैभन्दा महत्वपूर्ण काम छ । अग्रिम बुकिङ खुला गर्नेदेखि लिएर सार्वजनिक सवारी साधनहरु सहज रुपमा सञ्चालन गर्न सकिन्छ । भाडा दर जथाभाबी उठाउँनेलाई कडा कारबाही गरिने छ ।’

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  ५ : १३ बजे