मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ



काठमाडौँ, ३० कात्तिक ।नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासका निम्ति यस्ता बहसहरू भइरहनेछन् र राज्यले खुल्ला हृदयले स्वागत गरिरहनुपर्दछ । यो आलेख टिकटक प्रतिबन्ध गर्नुपर्नाको कारण एवं प्रतिबन्धपछि देशव्यापी रूपमा उठेका प्रश्न र जिज्ञासाहरूमा केन्द्रित रहनेछ, जसले हरेक लोकतान्त्रिक राज्य कसरी राज्य, राज्यका नागरिक र समाजप्रति उत्तरदायी रहन्छ भन्ने कुराको बोध गर्न सजिलो हुनेछ ।

विश्व सन् १९८० पछि सूचना–प्रविधिमा अभ्यस्त हुन थालेको भए पनि नेपालले आधुनिक प्रविधिको प्रयोग गर्न थालेको लामो इतिहास छैन । २०६२/६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सूचना–प्रविधिमा विशेष चासोका साथ पहल लिएको थियो ।

पछिल्ला १५ वर्षमा नेपालले सूचना–प्रविधिको क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । यस अवधिमा छापा तथा विद्युतीय सञ्चारमाध्यममा गुणात्मक विकास भएको छ । आमसञ्चार यति शक्तिशाली क्षेत्र भएको छ, जो आफैँले आफ्ना लागि समाचार उत्पादन, प्रसारण र वितरण गर्दछ । सामाजिक सञ्जालका धेरै प्लेटफर्ममा नेपालीहरू अभ्यस्त छन् । यस्ता सञ्जालहरूले पहुँचको अभावमा लुकेका प्रतिभाहरूको प्रष्फुटन गराएका छन्, अन्यायमा परेका नागरिकहरूका आवाजले राष्ट्रिय महत्व पाएका छन् । उपचार नपाएका कैयौं नेपालीहरूलाई सहयोगको राम्रो आधार तयार भएको छ । मानिसहरूले कम खर्चमा आफूले पढ्नरसुन्नरहेर्न चाहेको सामग्री सुलभ रूपमा प्राप्त गरेका छन् । बलियो सामाजिक सञ्जाल स्थापित गर्न सहयोग पुगेको छ । देशरविदेशमा रहेका आफन्त र साथीहरूबाट सघन सम्बन्ध र अन्तरक्रिया कायम भएको छ । विभिन्न शिक्षाप्रद सामग्रीको उपलब्धताले मानिसले बहुआयमिक ज्ञान हासिल गर्ने अवसर प्राप्त गरेको छ । नीति निर्माता र राज्य सञ्चालकहरूलाई नागरिक तहबाट खवरदारी गर्ने राम्रो माध्यम बनेको छ, आदि–आदि । सूचना–प्रविधि र सामाजिक सञ्जालका बहुआयाम छन्, जसले व्यक्ति, समाज, राष्ट्र र सिङ्गो विश्वलाई अगाडि बढ्न उत्प्रेरित गरिरहेको छ ।

तर, यति धेरै सवल पक्ष हुँदाहुँदै पनि पछिल्लो समय नेपाली समाजमा सामाजिक सञ्जालको दुरूपयोग बढ्दो छ । साइबर अपराधका नयाँ–नयाँ आयाम र तरिकाहरू सतहमा आएका छन् । नेपाल प्रहरीमा दर्ता भएका उजुरीहरू र तिनीहरूको प्रकृति हेर्दा राज्यले जिम्मेवारीपूर्वक नियमन नगर्ने हो भने हाम्रो भविष्यमाथि खतराको बादल मडारिँदैछ । यसतर्फ हामी सबै चनाखो र गम्भीर बन्नैपर्छ ।नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाल र एपहरूका गुणदोष दुबै छन् । युट्युब, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा पनि पारिवारिक र सामाजिक मर्यादाविपरितका धेरै सामग्रीहरू छन् । तिनीहरूमाथि समेत नियमन जरूरी छ ।

तर, आजको सन्दर्भमा सबैभन्दा धेरै दुरूपयोग टिकटकको देखिएको छ । त्यसको नियमनका लागि राज्यको तर्फबाट पर्याप्त गृहकार्य र तयारी गरिएको देखिन्छ, यद्यपि नियमन सम्भव भएन । त्यसैले सरकार तत्कालका लागि टिकटक बन्द गर्ने र अरू सामाजिक सञ्जालहरू मर्यादित बनाउन नियमन गर्ने निष्कर्षमा पुग्यो। आजको यथार्थ यही हो । टिकटकमा प्रसारित सबै सामग्रीहरू खराब छैनन् । त्यो कुरा प्रयोगकर्ताको ज्ञान, विवेक र सभ्यतामा समेत निर्भर रहन्छ । टिकटकका माध्यमबाट नयाँ प्रतिभाहरू सतहमा आएका छन्, उनीहरूले सामाजिक जीवनमा राम्रो प्रगति गर्ने आधार पनि खडा भएको छ । विभिन्न ज्ञानवर्धक सामग्री बनाउने बौद्धिक जमात पनि यहाँ क्रियाशील छ । उनीहरूले टिकटकलाई कसरी प्रगतिका निम्ति उपयोग गर्ने भन्नेखालका शिक्षा र सन्देश प्रसारण गरिरहेका छन् । यो सकारात्मक पक्ष हो ।

तर, टिकटकबाट चर्चा कमाउने र आयआर्जन गर्ने नाममा जे–जस्ता सामग्रीहरू प्रसारित हुने गरेका छन्, ती गम्भीर प्रकृतिका छन् । श्रम, उत्पादन, रोजगारी र सेवा क्षेत्रमा हुनुपर्ने युवा जनशक्तिको सम्पूर्ण ध्यान टिकटकमा देखिएको छ, उनीहरू टिकटकबाट आम्दानी गर्न जे–जे गर्दा ‘भ्यूज’ बढ्छ, त्यस्तै कर्म गर्न अभ्यस्त देखिन्छन् । लाइभका नाममा जे–जति विकृति देखिएका छन्, त्यसको जति नै निन्दा गरे पनि कमै हुन्छ । यस्ता सामग्रीहरूको प्रसारणले सबैजसो परिवारमा तनाव र बेचैनी हुने गरेको छ । अत्यन्तै उत्तेजक, कृतिम, अश्लिल सामग्री प्रस्तुत हुँदै जाँदा शिक्षित र बौद्धिकहरूसमेत ‘भ्यूज’ बढाउन अश्लिलताको प्रतिस्पर्धातर्फ धकेलिँदैछन् । उनीहरूसमेत उट्पट्याङमा लालयित हुने र गहन बौद्धिक एवं शैक्षिक सामग्री, चिन्तनरमन्थन शून्यप्रायः देखिँदैछ । प्रयोगको एकाध वर्षमा नै नेपालमा यस्तो विकृति देखिएको छ, जसमाथि लगाम नलगाउने हो भने भोलिको परिस्थिति राज्य, समाज र परिवारको नियन्त्रणबाहिर जानसक्छ ।

टिकटकमा प्रसारित भएका कतिपय सामग्रीहरू परिवार सँगै बसेर हेर्नै नसकिने खालका छन् । पूरै नग्नताका साथ प्रस्तुत हुने, सीमाबाहिरको गालीगलौज गर्ने, आफूले ढलेको सिन्को नउठाउने, केही गरिरहेका वा गर्न खोजिरहेका माथि तथानाम गाली गर्ने, आवाज, तस्बिर, भिडियो ‘इडिट’ गर्ने र तथ्यलाई बङ्गाएर प्रस्तुत गर्ने, श्रम संस्कृतिलाई तिरस्कार गर्ने, पारिवारिक उत्तरदायित्वबाट बिमुख हुने, घर–घरमा मनोरोगको भ्रूण रोप्ने, सभ्यता, संस्कृति र ज्ञानविज्ञानमाथि प्रहार गर्ने, पारिवारिक कलह, झै–झगडा, व्यक्तिको गोपनीयताको हकमाथि आक्रमण, बालबच्चा र जेष्ठ नागरिकको विकास र हेरचाहमा लापर्वाहीजस्ता सयौं अश्लिलता र विकृतिका कारण टिकटकमाथि नियमन अनिवार्य थियो ।सामाजिक सञ्जालको दुरूपयोगले सञ्चारमाध्यम पनि दिक्क भएका छन् । हप्तौं लगाएर अनुसन्धान गरिएका सामग्री ओझेलमा पर्ने र कुनै लगानी, परिश्रम र गुणस्तर नभएका सामग्री भाइरल हुने परिस्थितिले हरेक क्षेत्रको व्यवसायिकतामाथि नयाँ चुनौती थपिएको छ । कर्मठहरू गुमनाम छन्, अघिपछि युट्युबरहरू बोकेर हिड्ने ‘स्टन्डबाज’हरू चर्चामा छन् । अस्पतालमा १८ घण्टा बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीको कुनै चर्चा छैन, एक कार्टुन चाउचाउ बाँड्न १२/१५ जना युट्युबर बोकेर हिड्ने अभियान्ताको चर्चा छ । उही दानी, उही ज्ञानी, उही त्यागीको भ्रमले समाज आक्रान्त छ । नयाँ–नयाँ रङ्गका जोगीको उदयले नागरिक रनभुल्लमा छन् ।

एउटा स्रष्टाले अहोरात्र मेहेनतका साथ गीत, कथा, कविता लेख्छ । एउटा कलाकारले वर्षौं लगाएर उक्त सिर्जनामा सङ्गीत र स्वर भर्छ । एउटा उत्पादकले लाखौं खर्च गरेर उक्त सिर्जना बजारमा ल्याउँछ । तर, एउटा बेतुकको टिकटकरले त्यसलाई पूरै बिगार्छ, सामाजिक सञ्जाल दुर्गन्धित तुल्याउँछ । बिडम्वना, त्यही युट्युबर र टिकटकर हिट हुन्छ। “लाइक”, ‘फलो’, ‘भ्यूज’ उसैको बढ्छ । जसको सिर्जना हो, ऊ गुमनाम छ । जसले सिर्जनामाथि अपराधपूर्ण धावा बोल्छ, सामाजिक सञ्जाल दुर्गन्धित बनाउँछ, ऊ हिरो छ । यो ज्यादती सभ्य समाजले सहन सक्ने कुरा होइन ।टिकटकका सन्दर्भमा यति कुरा भनिसकेपछि अब चाहिँ नागरिक तहबाट उठेका केही जिज्ञासा, आलोचना र टिप्पणीहरूमाथि ध्यान दिन उपर्युक्त ठान्दछु । ती तर्क एवं टिप्पणी र सच्चाइबारे हामी सबै प्रष्ट हुन आवश्यक छ ।

पहिलो : टिकटक बन्द गर्नु अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नु हो, वाक् तथा प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु हो । यो कुतर्क र आग्रहपूर्ण राजनीतिक आक्षेप हो । यिनै राजनीतिक दलहरू हुन्, जो निरङ्कुशताका विरूद्ध देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति लड े। लोकतन्त्रका निम्ति, अभिव्यक्ति स्वतन्त्रताका निम्ति भूमिगत जीवन, जेलनेल र बलिदानको कीर्तिमान कायम गरे ।

त्यसैले यी दल र शक्तिहरूको नशानशामा लोकतन्त्रप्रति आस्था र विश्वास छ । हामी स्पष्ट हुनुपर्छ–अभिव्यक्ति स्वतन्त्रताको अर्थ अराजकता होइन, स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन, वाक् स्वतन्त्रताको अर्थ मनलाग्दी लागीगलौज र मानमर्दन होइन । हाम्रो संविधान र कानुनहरूले जुन व्यवस्था गरेका छन्, त्यसको मर्म र भावनाको सम्मान गर्नु नै वास्तविक अर्थमा लोकतन्त्र हो । दोस्रो : टिकटक नेपालमा मात्र बन्द गरिएको होइन, विश्वका कैयौं मुलुकहरूले यसको औचित्यमाथि प्रश्न उठाउँदै बन्द गरिसकेका छन् । अश्लिलता, मानव बेचविखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायतका कारण देखाउँदै टिकटक प्रतिवन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको छ । बेलायत , अमेरिका , न्युजिल्याण्ड, क्यानडा, ताइवान, बेल्जियम, डेनमार्क, पाकिस्तान, अफगानिस्तान, भारत, सोमालिया, अर्मेनिया, अजरवैजान , बङ्गलादेश, इन्डोनेसिया, इरान, जोर्डन, अष्ट्रिया, इस्टोनिया, फ्रान्स, आयरल्याण्ड , लाट्भिया, माल्टा, नेदरल्याण्ड, नर्वे र अष्ट्रेलियाले टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् । आफ्नै देशभित्र उत्पादन भएको एपलाई चीनले समेत कडा नियमन गरिरहेको छ, जहाँ चीनबाहिरका नागरिकले उही एपबाट टिकटक चलाउन सक्दैनन् । यसले प्रष्टाउँछ– कुन सोसल मिडिया वा एप प्रयोग गर्ने वा नगर्ने, गर्न दिने वा नदिने भन्ने कुरा सम्बन्धित मुलुकको राष्ट्रिय हित र चासोमा निर्भर रहन्छ ।

तेस्रो : टिकटक नियमन गर्न सकिन्थ्यो, नियन्त्रण गर्नु गलत हो । जुन कुरा सतही विश्लेषण हो । एक हप्ताअघि गृह मन्त्रालयले टिकटकका प्रतिनिधि बोलाएर एपलाई नियमन गर्नेबारे छलफल गरेको थियो । तर, उक्त छलफलमा टिकटकका प्रतिनिधिहरूले टिकटक नियमन गर्न नसकिने, अवान्छित सामग्रीहरू हटाउन नसकिने, फेक आइडीलाई नियमन गर्न नसकिने बताएपछि सरकारले बन्दको बिकल्प रोज्नुपरेको हो ।

चौंथो : सामाजिक सञ्जालका रूपमा आउने नयाँ–नयाँ प्रविधिका मुख्यतः दुई स्वार्थ छन् स् प्रविधिको माध्यमबाट प्रभाव विस्तार र व्यापारिक स्वार्थ । त्यस्ता सञ्जालहरू सञ्चालनमा आउँदा नेपालभित्र अनिवार्य दर्ता हुनुपर्छ । दर्ता नहुँदा त्यस्ता सञ्जालहरूको अनुगमन, नियमन र करको दायरामा ल्याउने विषय कठिन हुन जान्छ । तसर्थ, भविष्यमा सामाजिक सञ्जालका सबै प्लेटफर्महरूलाई देशभित्र दर्ता अनिवार्य गर्नेगरि जानैपर्छ ।

पाँचौं : पारिवारिक र सामाजिक सद्भाव भड्काउने अरू पनि सोसल मिडिया छन्, टिकटक बन्द गरेर समस्या समाधान हुँदैन भन्ने तर्क पनि छ । यथार्थ हो– अरू सोसल मिडियामा पनि अवान्छित सामग्री छन्, तिनीहरूको पनि नियमन जरूरी छ । तर, सबैभन्दा बढी अवान्छित गतिविधि टिकटकमा हुनु र स्वयं टिकटकका प्रतिनिधिले नै नियमन गर्न सकिँदैन भन्नु नै टिकटक बन्द गर्नुपर्नाको प्रमुख कारण हो ।

छैटौं : टिकटक बन्द गरे पनि ‘भिपिएन’बाट टिकटक चलाउन सकिन्छ भन्ने तर्क पनि छ । हो– भिपिएनबाट पनि टिकटक चलाउन सकिन्छ तर राज्यले नै गैरकानुनी ठहर गरिसकेको एप चलाउने काम पनि गैरकानुनी हुन जान्छ । त्यस्ता प्रयोगकर्ताहरू स्वतः कानुनको दायरामा आउनेछन् ।

सातौं : सर्वोच्च अदालतले सरकारको निर्णय उल्टाउनेछ । यो पनि सतही तर्क नै हो । नेपालको संविधानले देशको राष्ट्रिय हित, प्रतिष्ठा, स्वतन्त्रता, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा कानुन बनाएर नियन्त्रण गर्ने अधिकार प्रदान गरेको छ । टिकटक प्रतिबन्ध सामाजिक सञ्जाल नियमन निर्देशिका जारी गरेपछि मात्रै गरिएको छ । तसर्थ, यो संवैधानिक र कानुनसम्मत छ ।

आठौं : चीनको एप्लिकेशन भएकाले बन्द गरियो, भूराजनीतिक दबाबको प्रभाव हो भन्ने गरिएको छ । जुन सर्बथा गलत र पूर्वाग्रहपूर्ण विश्लेषण हो । नेपाल सरकार पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीतिका साथै दुबै छिमेकीलगायत विश्वभरिका मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्दछ । यो तथ्य प्रचण्ड सरकारका १० महिनाले प्रमाणित गरिसकेको छ । नवौं स् सरकार मिसन २०८४ बाट त्रसित भएको प्रोपोगाण्डा गर्ने कोशिस हुँदैछ, जुन भ्रामक कुरा हो । २०८४ को निर्वाचनमा कुन शक्ति र दलको हैसियत के हुन्छ भन्ने कुरा हाम्रो बाँकी ४ वर्षले निर्धारण गर्नेछ, कुनै पूर्वप्रायोजित प्रोपोगाण्डाले निर्धारण गर्दैन । आज जुन दल र नेताहरू गालीगलौजको सहाराले जनमत आफूतिर तान्ने कोशिस गर्दैछन्, निर्वाचित भएपश्चात तिनीहरू पनि परीक्षाको कसीमा जाँचिनैपर्छ ।

त्यतिबेला थप प्रष्ट हुनेछ–आवेग, घृणा, उत्तेजना, गालीगलौजले राज्य चल्दैन । राज्यका कुशल सञ्चालक ती हुन्, जोसँग ज्ञान, विवेक, निर्णय क्षमता, राजनीतिक योगदान, त्याग बलिदान, सिद्धान्त, राजनीतिक समर्पण चाहिन्छ । यो तथ्य स्थापित गर्न लोकतान्त्रिक शक्तिहरूले धैर्यतापूर्वक सङ्घर्ष गर्नेछन् ।

दशौं : प्रविधि नवीनतम् चेतनाको उपज हो, यसलाई नियन्त्रण गर्न खोज्नु पछौटेपन हो भन्ने कूतर्क पनि देखिन्छ । यो सबैभन्दा भयानक र घातक छ । प्रविधि मुलतः विकसित चेतना र विज्ञानको उपज हो । तर, प्रविधिका सबै प्लेटफर्मले नवीनतम् युग र चेतनाको प्रतिनिधित्व गर्छन् भन्ने निश्चित हुँदैन । ‘पोर्न साइड’ पनि प्रविधि नै हो तर त्यसले नवीनतम् चेतनाको प्रतिनिधित्व गर्दैन । क्रिप्टोकरेन्सी पनि प्रविधि नै हो तर त्यसमाथि लगभग सिंगो विश्वले नै प्रतिबन्ध लगाएको छ । त्यसैले सभ्यता र समुन्नतिको आकांक्षा राख्ने मुलुकहरूले त्यसमाथि प्रतिबन्ध लगाएका छन् । गुण र दोषका आधारमा समर्थन र विरोध नगरी प्रविधिका खराब पक्षहरूलाई पनि नवीनतम् चेतनाको उपज ठान्नु बौद्धिक टाटपल्टाइ मात्रै हो । त्यसैले तत्कालका निम्ति सरकारले जुन कदम चालेको छ, त्यसले राष्ट्रको बृहत्तर हित, सामाजिक सद्भाव र पारिवारिक एकताको लक्ष्य राखेको छ । हामीसँग सामाजिक सञ्जालका धेरै प्लेटफर्महरू छन्, तिनीहरूको रचनात्मक, सकारात्मक, आलोचनात्मक र प्रतिफलमुखी ढङ्गले उपयोग गरौं । (लेखक प्रधानमन्त्रीका प्रेस विज्ञ हुन)

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  २ : २६ बजे