काठमाडौँ । रुसी सेनाका तर्फबाट युद्ध लडेका तीन जना नेपालीको मृत्यु भएको छ। मस्कोस्थित नेपाली दूतावासले तीन जना नेपालीको मृत्यु भएको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइसकेको जानकारी दिइएको छ।
रुस र युक्रेनबीचको युद्धमा उनीहरू मारिएको रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले काठमाडौँ पोस्टसँगको टेलिफोन सम्पर्कमा भनेका छन्। विस्फोटमा परी उनीहरू मारिएको तुलाधरको भनाइ छ।
उनका अनुसार स्याङ्जा, दोलखा र इलाम ठेगाना भएका तीन युवाको मृत्यु भएको हो। उनीहरू नोभेम्बर १५ मा मारिएको रुसी पक्षको भनाइ छ। मृतकका विषयमा थप विवरण प्राप्त हुने क्रममा रहेको र दूतावासले त्यसका लागि काम गरिरहेको तुलाधरले बताए। मृतकहरुको शव नेपाल ल्याउनका लागि मृतकका परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ।
‘युद्ध क्षेत्रमा भएको विस्फोटमा परी तीन नेपालीको मृत्यु भएको जानकारी रुसी पक्षले दिएको छ। उनीहरूको शव दूतावासले प्राप्त गर्न बाँकी छ। उनीहरूका विषयमा विस्तृत विवरण हामीले रुसी पक्षसँग माग गरेका छौँ,’ तुलाधरलाई उद्धृत गर्दै काठमाडौँ पोस्टले लेखेको छ, ‘हामीले क्षतिपूर्ति दाबीका लागि पनि प्रयास गरिरहेका छौँ।’ परराष्ट्र मन्त्रालयले भने मृतकका विषयमा विवरण दिन इन्कार गरेको छ।
गत अगस्ट १ मा नेपालको परराष्ट्र मन्त्रालयले परम्परागत रूपमा दुईपक्षीय सन्धि भएका बाहेकका देशका सेनामा सामेल नहुन आग्रह गरेको थियो।
रुसी सेनामा नै कार्यरत एक नेपाली युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। बर्दियाका विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भन्दै उनले आफ्नो रिहाइका लागि आग्रह गरेका छन्।
युक्रेनी गृहमन्त्रीका सल्लाहकार एन्टोन गेरास्चेन्कोले गत महिना पोस्ट गरेको भिडियोमा नेपाली नागरिक विकेकले रिहाइको माग गरेका गरेका छन्। खत्रीको परिवारले पनि उनको रिहाइका लागि परराष्ट्र मन्त्रालयमा आग्रह गरेका छन्














