पुटिनले बुधबार साउदी अरब र युएईको भ्रमण गर्ने



काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले बताएको छ । मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमबाट अलग्गिए पनि विदेशमा सहयोगीहरूबाट सहयोग पाउने प्रयत्न गरेको छ ।

युक्रेनमा सेना परिचालन गरेपछि पुटिनले आफ्नो अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसिसी० ले उनिमाथि युक्रेनी बालबालिकालाई निर्वासित गरेको आरोप लगाउँदै  गिरफ्तारीको वारेन्ट जारी गरेको छ । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मङ्गलबार पत्रकारहरूसँग भने, “राष्ट्रपति पुटिनले भोलि संयुक्त अरब इमिरेट्स र साउदी अरबको कार्य भ्रमणमा जानुहुनेछ ।” साउदी अरबमा पुटिनले क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग व्यापार, अन्तर्राष्ट्रिय राजनीति र मानवीय सहयोगमाथि छलफल गर्नुहुने क्रेमलिनले घोषणा गरेको छ । 

उनले व्यापार, ऊर्जा, पर्यटन र शिक्षाका विषयमा युएईमा आफ्ना समकक्षी शेख मोहम्मद बिन जायद अल नाहयानसँग छलफल गर्नेछन् । क्रेमलिनले इजराइल र हमासबीचको द्वन्द्व दुवै बैठकका एजेन्डा हुने बताएको छ । 


सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि ठूलो स्तरमा शत्रुता सुरु गरेदेखि पुटिन विदेशमा धेरै उच्चस्तरीय बैठकहरूमा सहभागी भएका छैनन् । ‘राजनीतिक प्रदर्शन’ बाट बच्नका लागि अगस्टमा दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनमा उनि सहभागी भएनन् । 

उनि सेप्टेम्बरमा व्यक्तिगतरूपमा प्रमुख जी२० शिखर सम्मेलनमा पनि सहभागी भएनन् । यद्यपि उनले नोभेम्बरमा एउटा भर्चुअल जी२० बैठकमा भाग लिएका थिए ।





प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार  ८ : ४० बजे