काठमाडौं । चलचित्र क्षेत्रका व्यक्तिहरुले प्रस्तावित चलचित्र ऐनमाथि प्रशस्त छलफल हुनुपर्नेमा जोड दिएका छन् ।चलचित्र विकास बोर्डले फिल्म सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझाव सम्बन्धमा सरोकारवालाहरूसँग गरेको छलफलमा वक्ताहरुले उक्त धारणा राखेका हुन् ।
बोर्डमा नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरूका प्रतिनिधि तथा फिल्महरूसँग माग र सम्बोधनका विषयमा केन्द्रित रही छलफल गरेको हो ।बोर्डले तीन महिनाअघि प्रस्तावित चलचित्र ऐनमाथि आवश्यक राय सुझाव एवम् पृष्ठपोषणका लागि मस्यौदा सार्वजनिक गरेको थियो ।
छलफलमा बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले नयाँ चलचित्र ऐन पारित गराउन फिल्मकर्मीहरुले धेरैवर्षदेखीको प्रयास गरेको स्मरण गर्दै नेपालको राष्ट्रिय चलचित्रको हितमा हुनेगरी सबैको साझा सहमतिमा चाँडै विधेयक पारित लगाउन आफू लागिपरेको बताए ।
‘सञ्चार तथा सूचना प्रविधिमन्त्री सुरुदेखि नै यो विधेयकमा सकारात्मक रहनुभएको छ । मेरो कार्यकालमा नै यसलाई टुङ्गो लगाउँछु भनेर बोर्डलाई विश्वास दिलाएको कारण यसलाई छलफल गरी मस्यौदा पठाउन यो कार्यक्रम राखिएको हो’, उनले भने ।
बोर्डका सदस्य–सचिव तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विशाल सापकोटाले यो अन्तिम पटकको छलफल नभएको र उत्कृष्ट ऐन निर्माणको लागि अझै धेरै बहस र छलफल गर्न आवश्यक हुनसक्ने बताए ।
‘जसको लागि विधेयक बनाउन लागेका छौँ, त्यसमा सम्बन्धित तप्का सन्तुष्ट नभई विधेयक आउन हुँदैन भनेर छलफल गरिरहेका छौं’, उनले भने । उनले संसद्मा दफावार छलफल हुने बेलामा समेत फिल्मकर्मी सतर्क रहनुपर्ने बताए ।