अभिनेता सौगात मल्ल भन्छन् – हात्तीछापमा केही संवादहरु आफैं थपें



काठमाडौं । नाट्य अभिनयसँगै फिल्मी अभिनयमा पाइला चालेका अभिनेता सौगात मल्ल ब्लकब्लस्टर फिल्म ‘लुट’बाट ‘हाकु काले’का रुपमा चिनिए ।सौगातले अभिनय गरेका धेरै फिल्म असफल छन् । फिल्म असफल भए पनि अभिनयका मामलामा उनी सफल मानिन्छन् ।

किनकी हरेक फिल्ममा कथाको माग अनुसार आफूलाई फरक रुपमा प्रस्तुत गरेर अभिनयको ‘वाहवाही’ पाइ नै रहेका छन् ।यिनै सौगात यही माघ २६ गतेबाट रिलिज हुने फिल्म ‘हात्तीछाप’मा ‘बोत्तल राजा’ चरित्रमा देखिँदैछन् । फिल्मको टिजर होस् वा टे«लरमा उनले आफ्नो चरित्रलाई स्थापित गरेका छन् ।

सौगात ‘हात्तीछाप’बाट उत्साहित छन् । सिमोस सुनुवारको निर्देशन रहेको यो फिल्मका लागि उनले केही संवाद आफैले पनि थपेका रहेछन् । निर्देशक सुनुवारसँग काम गर्न सहज भएकाले पनि आफूले संवाद थपेको खुलाए । ‘उहाँसँग काम गर्न निकै सजिलो भयो । उहाँलाई यसरी काम गरौं न भन्दा उहाँले अस्वीकार गर्नुभएन । किनकी फिल्ममा निर्देशकभन्दा फरक रुपमा काम गर्दा कहिलेकाही कामको वातावरण पनि बिग्रन्छ’, उनले भने, ‘त्यसकारण पनि हात्तीछापमा मैले केही संवादहरु आफैं थपें । निकै रमाइलोसँग काम गर्न पाइयो ।’

किरण नेपालीको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा सौगातसँगै उपासना सिंह ठकुरी, बेनिशा हमाल, दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : माघ ९, २०८० मंगलबार  ४ : २३ बजे