काठमाडौं,१२ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य पेश गरेको छ ।
अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।
नेपालका आकास चन्दले उत्कृष्ट बलिङ गरे। उनले ५ विकेट लिने क्रममा ८ ओभरमा ३४ रन खर्चिए। आकासले ५ विकेट लिँदा दिपेशले २ विकेट लिए। यस्तै सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाले १/१ विकेट लिए।
नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।
यो खेलको विजेताले सुपर सिक्सको यात्रा तय गर्नेछ। पराजित हुने टोलीले भने १३ देखि १६ औं स्थानका लागि प्लेअफ खेल्नेछ।