दर्शकले मन पराए रेखाको ‘उपहार’



काठमाडौं । नायिका रेखा थापाको फिल्म ‘उपहार’ले शानदार सुरुवात गर्दै दर्शकको उल्लेख्य साथ र माया पाएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म प्रदर्शनको छैटौं दिन पुग्दा राजधानीका अधिकांश हलमा शो हाउसफुल छन् ।

फिल्मको उत्कृष्ट टेलर, वर्ड्स् अफ माउथ र रेखाको लामो समयपछि फिल्म आएकै कारण दर्शक फिल्म उपहार हेर्न पुगेको पाइएको छ । काठमाडौं र उपत्यका बाहिरका अधिकांश हलमा उल्लेख्य संख्यामा दर्शक सहभागिता पाइएको फिल्म निर्माण पक्षले जनाएको छ ।

बुधबार दर्शकको प्रतिक्रिया बटुल्न फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, नायक मुकुन भुषाल र नायिका बेनिशा हमाल पानीपोखरीस्थित बीग मुभिजमा पुगेका थिए । फिल्म हेरिसकेपछि दर्शकको प्रतिक्रिया लिँदै फिल्म निर्देशक देउजाले उपहारले सामाजिक विषयवस्तु उठान गरेकै कारणले दर्शकको माया पाएको बताए ।

उनले भने, ‘उपहार सामाजिक विषयवस्तुमा तयार पारिएको कथा हो । यो एक जनामात्र नभइ सयौं, हजारौंको कथा हो । विदेश जानेको कथा छ, फर्किनेको कथा पनि छ, नेपालमै बसेर यँही केही गर्नुपर्छ भन्नेहरुको कथा पनि छ । देखेको भोगेको कथा भएका कारण दर्शकलाई ऊर्जा दिएको हुन्सक्छ । दर्शकको माया पाएका छौं ।’

आफूलाई दर्शकले दिएको प्रतिक्रियाभन्दा अझ धेरैले फिल्म हेरेर साथ दिएको उल्लेख गर्दै देउजाले खुसी व्यक्त गरे । त्यस्तै अभिनेत्री बेनिशा हमालले फिल्मले एकछिनको हार मात्र जीवन नभइ जीवन लामो रहेको कथा प्रस्तुत गरेकोले दर्शकले औधी रुचाएको दाबी गरिन् ।

त्यस्तै ‘उपहार’ हेर्न हल पुगेकी गैरसरकारी संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले महिला अधिकारदेखि लिएर बालबालिका क्षेत्रमा आफूहरुलाई नायिका रेखा थापाको साथ र सहयोग भएकै कारण सपरिवार फिल्म हेर्न आएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘हामीसँग रहेका बालबालिकालाई रेखा थापाको सहयोग छ । बेनिसालाई आज मात्र भेटेको हो । पुजा पनि बेला बेला आइराख्नुहुन्छ । रेखा थापा महिलामुक्ति आन्दोलनको वान म्यान आर्मी जस्तो लाग्छ । त्यसैले फिल्ममा उपहार स्वरुप दिएको छ । यो गज्जव उपहार भयो हामी सबैका लागि ।’

रक्षा नेपाल महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको एक गैरसरकारी संस्था हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  ७ : २२ बजे