मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति



काठमाडौं। आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म एक लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजनकले जानकारी दिएको छ ।
‘२८ गते बुधबार साँझ सम्म महोत्सवमा एक लाख जना भन्दा धेरैले अवलोकन गर्नुभएको छ,’आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भने । सातौं दिनसम्म आइपुग्दा सहभागीता उत्साहजनक रहेको महतको भनाई छ ।

मंगलबार भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा सुरु भएकाले अबका दिनका महोत्सव अवलोकन गर्ने आउनेहरुको संख्यामा वृद्धि हुने आयोजकहरुको अपेक्षा छ । २८ गते विहीबार गायिका अस्मिता अधिकारी, गायक कुलेन्द्र विश्वकर्मा, दुर्गेश थापा, श्रीकृष्ण बम मल्लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल महर्जनले जानकारी दिएका छन् ।

‘अहिलेसम्म राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुती दिइसक्नु भएको छ,’ महर्जनले भने । नृत्य प्रतीयोगिता पनि जारी रहेको र बैशाख ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने उनले बताए । नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरे महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।

‘कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,’ थापाले भने । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ ।

महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्र्थीलाई रु.५० र सर्वसाधरणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले बताए । महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा बैशाख २ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १ : २६ बजे