मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘डिग्री माइला’ : भरपुर मनोरञ्जन र सन्देशमुलक



काठमाडौं । शुक्रबार(आज)बाट रिलिजमा आएको फिल्म ‘डिग्री माइला’ले बिहीबार साँझ राजधानीमा प्रिमियर गरेको छ ।

दयाहाङ राई तथा आँचल शर्माको मुख्य अभिनय रहेको फिल्मले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले उसँग राखेको अपेक्षाबिचको द्वन्द्वलाई प्रस्तुत गरेको छ ।

फिल्म हेरेपछि अभिनेत्री मिरुना मगरले फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् । ‘सुरुमा हाँसिरहँदा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा नेपाली युवाहरुले सामना गरिरहनुपरेको कुरालाई देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन ।

अभिनेत्री लुनिभा तुलाधरले निर्देशक रामबाबु गुरुङको कामको तारिफ गरिन् । ‘उहाँले राम्रा कलाकारलाई व्यवस्थापन गरेर एक ठाउँ राखेर निर्देशन गर्नुहुन्छ । उहाँसँग त्यो कला छ । एउटा निर्देशक राम्रो व्यवस्थापक हुनुपर्छ । यसका लागि मंैले सम्मान गर्नैपर्छ’, उनले भनिन् ।

अभिनेत्री श्रृजना सुब्बाले फिल्मको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबलौं जस्तो लागेको बताइन् । ‘एकदमै मन कस्तो भारी भइरह्यो । रामबाबुको राम्रो पक्ष चाहीं एकदमै गहन कुराहरुलाई रमाइलो रुपमा प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउने काइदा एकदमै राम्रो छ’, उनले भनिन् ।

अभिनेता दयाहाङले आफूले पहिलोपटक पूरै फिल्म हेरेको बताउँदै सबै कलाकारको अभिनय मनपरेको बताए । ‘मैले आफूलाई एकदमै इमान्दार भएर हेर्ने कोशिस गरें । हामीले जो मेहनत गरेका छौं, त्योचाहिँ छर्लगै देखिन्छ’, उनले भने ।

संगीतकार चेतन सापकोटाले फिल्म हेरिरहँदा मनोरञ्जन लिएको भन्दै प्रशंसा गरे । अभिनेता शिव श्रेष्ठले राम्रो फिल्म बनेको भन्दै तारिफ गरे । निर्देशक दिनेश डिसीले फिल्ममा रामबाबु गुरुङ र दयाहाङको ब्राण्ड देखिएको बताउँदै फिल्मको कन्टेन्ट शिक्षाप्रद रहेको धारणा राखे ।

एमाले नेता एवं संघीय सासंद रघुजी पन्तले फिल्ममा मनोरञ्जन रहेको र फिल्मले सन्देश पनि बोकेकाले आफूलाई मनपरेको बताए ।

‘शैक्षिक संस्थाहरुमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रिरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ । टिपीकल रामबाबुको फिल्म हो । उनको स्टाइल हो ’, उनले भने । उनले डिग्री माइलाहरु देशमा धेरै भएको भन्दै देश छाडेर नजानसमेत आग्रह गरे ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : ०४ बजे