मकवानपुर । मकवानपुर प्रहरीले गएराति चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–६ बस्ने ४९ वर्षीय भरत गौतमको साथमा रहेको ५१ हजार रुपैयाँ चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा नम्वर वडा नं. ६ बस्ने वर्ष ३२ को लाक्पा तामाङ, उदयपुर त्रियुगा नगरपालिका वडा नं. १० बस्ने वर्ष ४२ को प्रेम दोर्जे शेर्पा र धनकुटाको छथर गाउँपालिका वडा नम्वर वडा नं. ३ बस्ने वर्ष ३७ को हेमराज श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, गएराति ११ बजेको समयमा हेटौंडाबाट लोथर जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको बसमा सवार उनीहरुले सोही बसमा सवार गौतमको साथबाट उक्त रकम चोरी गरेका थिए ।
साथै प्रहरीले दोर्जे शेर्पाको साथबाट १ लाख ६९ हजार ७१० रुपैयाँ, तामाङको साथबाट ३९ हजार रुपैयाँ र श्रेष्ठको साथबाट ५ हजार ७७० रुपैयाँ बरामद गरेको छ ।पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।