काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहसअन्तर्गत सुनुवाइ सकिएको छ।
सरकारी वकिल, जाहेरकर्ताका कानुन व्यवसायी र रविका पक्षका वकिलको बहस सकिएको हो।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बहस सकिएको भन्दै इजलासबाट बाहिर जान आदेश दिएका छन्। बहस पछि उनले आदेश लेखनको तयारी गर्नेछन्।
कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशअनुसार बिहीबार ६५ लाख धरौटी बुझाएर रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्।
८४ दिन कास्की प्रहरीको हिरासतमा बसेर बिहिबार छुटेका रवि आइबारदेखि भने प्रहरी हिरासतमा नै छन्। रवि पक्षले बुधबार बहस छोट्याएका थिए।
पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको मुद्दामा रविसँगै जोडिएका छविलाल जोशी भने एक सातायता फरार छन्।
गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारीको बचत रकम अपचलनमा ८८ लाख धरौटीमा छोड्न आदेश दिएका उनी त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेमा नभएका हुन्।
कास्की प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा आफैँ हाजिर हुने शर्तमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालको जिम्मा लगाएर पठाएको थियो।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी छ।