मुक्तिनाथमा प्रभु बैंकको भीम युपिआई सेवा सुरु, डिजिटल भुक्तानी र क्रस-बोर्डर कारोबारमा नयाँ सुरुवात



काठमाडौं । मुस्ताङ्ग जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा प्रभु बैंकले भीम युपिआई सेवा सुरु गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ गरेको हो।

उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन्। यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको बैंकले जनाएको छ। क्रस-बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरेको पनि बैंकले जनाएको छ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकाले भीम युपिआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उल्लेख गरे। उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रभु बैंकका प्रतिनिधिहरूले बैंक प्रविधिमा निरन्तर अग्रसर रहेको जानकारी गराउँदै बैंकले देशभर ७७ वटै जिल्लामा ३१२ शाखा तथा ६७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको र देश/विदेशमा उत्कृष्ट रेमिटेन्स सेवा उपलब्ध गराउँदै आएको बताए।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  २ : १६ बजे