काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैगर्दा प्रयोग गरेका शब्दप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नियमापत्ति गरेको छ ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले रोष्टमबाट राजालाई अपमानित र घोच्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका हुन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन् ।
उनले भने, ‘सम्मानिय प्रधानमन्त्रीज्युले बोल्दैगर्दा संसदको नियमावली २०७९ को नियम २१ को यहाँ होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो । यो संसदको रेर्कडबाट हटाइयोस् । एयरोपोर्टमा स्वागत गरिएको स्वागतलाई उहाँले कथित भनेर भन्नुभयो, संसदको नियमावलीकाके नियम २६ को र अर्को नियम २१ को उपनियम ‘घ’ मा कसैलाई अपमानित गर्ने शब्द र कसैलाई घोच्ने शब्द प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोल्नु भएको छ यो रेकर्डबाट हटाइयोस्। ’ साथै उनले प्रधानमन्त्री बोलिरहेको समयमा उभिएरै विरोध गरेका थिए ।














