नेपाली कांग्रेस सोलुखुम्बुको आयोजनामा स्व.बस्नेतको श्रद्धाञ्जली सभा सम्पन्न



काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले नेपाली कांग्रेसका राजनीति सदस्य तथा समाजसेवी शताब्दी पुरुष स्व. गणेश बहादुर बस्नेतको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाको विशेष आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै महामन्त्री थापाले राजनीति लगायत सबै क्षेत्रमा इमान्दारिता र निष्ठा हराउँदै गएका कारण अहिले जनतामा चरम निराशा र असन्तुष्टि बढ्दै गएको बताए ।

पेशा र जिम्मेवारीप्रति जवाफदेही नहुंँदा हरेक क्षेत्रमा समस्या उत्पन्न भइ रहेको बताउंदै उनले आ-आफ्नो जिम्मेवारी इमानदारीता र निष्ठापूर्बक निर्बाह गर्न सकेको खण्डमा मात्रै लोकतन्त्र बलियो बनाउन सकिने धारणा व्यक्त गरे।

आफुलाई कतिपयले गणेश बहादुरको नाति भनेर सम्बोधन गर्दा गर्बको महशुस हुने गरेको बताउदै महामन्त्री थापाले भने, अहिले अरुलाई भुइँमा राखेर आफू अग्लो ठाउँमा बस्ने अनि म उनीहरूको नेता हुँ भन्ने प्रवृत्ति मौलाउँदो छ । तर अरुलाई भुँएएमा राखेर आफू अग्लो ठाउँमा बस्दैमा नेता भइदैंन, थापाले भने, ‘नेता त्यो हो जस्लाई संगै बसेको साथीले यो म भन्दा योग्य छ,अरु भन्दा बिश्वासिलो छ,यसलाई अगाडी बढाउनु पर्छ, ।’

स्वर्गीय हजुरबुवाले अग्लो ठाउँमा बसेर नभई अरु साथीहरूसंग संगै बसेर पनि एउटा उचाई प्राप्त गर्नुभएको बताउँदै उनले पेशाप्रतिको निष्ठा र इमान्दारिता सिक्न सके वहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखे ।

सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पा, नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पा, संबिधान सभा सदस्य गोकर्ण राई,कोशी प्रदेश सभा सदस्य डोल्मा तामाङ,नेपाली कांग्रेस प्रदेश निर्बाचन क्षेत्र ख का सभापति कर्मा शेर्पा,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाशसिं कार्की,पूर्ब महासमिति सदस्य हुतराज बस्नेत, कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापा,स्वर्गीय बस्नेतका कान्छा भाइ रेवती बहादुर बस्नेत,नेपाली कांग्रेस लिखुपिकेका नेता निमछिरी शेर्पा लगायतले सम्बोधन गर्दै स्वर्गीय बस्नेतको निष्ठा,इमान्दारिताको चर्चा गरेका थिए ।

प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार  ७ : ०१ बजे