कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य र सोही पदबाट हटाइएका कुलमान घिसिङको मुद्दामा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त मुद्दाको सुनवाइ सकिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो ।

मंगबार इजलासमा कुलमानका तर्फबाट कानुन व्यवसायीहरूले र बुधबार हितेन्द्रदेवका कानुन व्यवसायीले बहस गरेका थिए । तेस्रो दिनको बहसमा हितेन्द्रदेव र सरकारी वकिलले बहस गरेपछि कुलमानका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।

बहस आजबाट सकिएको सर्वोच्च प्रशासनले जनाएको छ । यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ ।

प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार  ४ : २७ बजे