काठमाडौं, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा थुनामा पठाउने आदेश गरेको छ ।
जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।
लामिछाने यसअघि सो मुद्दामा एक करोड धरौटीमा रिहा भएका थिए । लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदनको निवेदन दिएको थियो । उक्त निवेदनपछि रविले पनि आफ्नोविरुद्ध धरौटीको आदेश बदर गरी साधारण तारेखमा राख्ने माग लिएर पुनरावेदन निवेदन दिएका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुँवरका अनुसार रविलगायतलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध सरकारी उच्च अदालतमा पुनरावेदन आएको थियो ।
‘जिल्ला अदालतको फैसलाविरुद्ध सरकार उच्चमा पुनरावेदन आएको थियो । धरौटीमा छाड्ने जिल्ला अदालतको फैसला बदर भएको छ । अब कानुनी प्रक्रियाअनुसार अगाडि बढ्छ,’– उनले भने ।









