तीनकुने घटनाको न्यायिक छानबिन हुन्छ : प्रधानमन्त्री ओली



२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजाबादि प्रदर्शनपछिको घटनामा निष्पक्ष छानबिन हुने दाबी गरेका छन् ।

थाइल्यान्डको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले सबै विषयमा न्यायिक छानबिनकै आवश्यकता नहुने बताउँदै निष्पक्ष छानबिन सरकारले गर्ने जिकिर गरे ।

यसैबिच प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन्।


पत्रकार सम्मेलनमा ओलीले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाट अत्यन्त सुमधुर वातावरण र हार्दिकताका साथ भयो । यस पटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । किनभने सगरमाथा संवादकै बेला युरोपको कार्यक्रम तय भइसकेको रहेछ । युरोपमा कार्यक्रमहरु तय भइसकेकाले बदल्न सक्ने अवस्था छैन । तर भारतबाट सगरमाथा संवादका लागि राम्रै प्रतिनिधित्व हुने जानकारी मोदीले गराउनुभएको छ ।’


उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताए । उनले कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए ।

प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार  ४ : २९ बजे