काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ३३.३३ अंक घटेर २६७०.०६ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ५५ हजार ७१२ पटकको कारोबारमा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँबराबरको १ करोड १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंक र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि-इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ५० करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्।














