काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्याजती गरेको र जल्लादी भाषा प्रयोग गरेको भन्दै छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग माग गरेको छ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियारलगायतका नेता आयोगमा पुगेर ज्यादती र जल्लादी भाषा प्रयोगबारे छानबिनको माग गरेका हुन्।
लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण पनि रास्वपाले गराएको छ।
चैत २२ गते तुलसीपुर उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो। उनलाई २३ गते भैरहवा कारागार चलान गरिएको थियो।
लामिछानेलाई पक्राउ पुर्जी विना प्रहरीले नियन्त्रणमा लिएको र प्रहरीले ‘अन्तिम इच्छा के छ’ भनी सोधेको थियो। उक्त वाक्यांशलाई रास्वपाले जल्लादी भाषाको संज्ञा दिएको छ।
रवि पक्राउको प्रक्रिया नमिलेको भन्दै प्रहरीको सर्वत्र आलोचना भइरहेको छ।









