सिरहामा यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । सिरहामा यौन दुर्व्यवहारमा परेकी एक महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

गृहमन्त्री रमेश लेखकले घटनाबारे चासो राख्दै छानबिन गर्न बुधबार बिहान प्रहरी महानिरीक्षक आईजीपी दीपक थापालाई निर्देशन दिएका हून् ।

‘यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे खबर सार्वजनिक भएपछि आजै मन्त्रीज्यूले प्रहरी प्रमुखलाई छानबिनका लागि निर्देशन दिनु भएको हो’, लेखकको सचिवालयले भन्यो ।

आफूमाथि बलात्कारको प्रयास भएको बताएकी नरहा गाउँपालिका बर्छवा गाउँकी २५ वर्षीया आनन्दी देवी सदाय मृत अवस्थामा भेटिएकी थिइन् ।

गत ९ पुसमा आफूमाथि दुई युवाले बलात्कार प्रयास गरेको उनले बताउँदै आएकी थिइन् । प्रहरीमा जाहेरी दिँदा समेत नलिएको उनको आरोप थियो ।

प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार  १२ : ०३ बजे