काठमाडौं । ५२ संवैधानिक पदाधिकारी विरुद्ध परेका रिट निवेदनमाथि आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
संवैधानिक अंगमा २०७७ मंसिरमा ३० जना र ०७८ वैशाखमा २० जना पदाधिकारी नियुक्तिका निम्ति सिफारिस भएका थिए । तिनीहरूले संसदीय सुनुवाइबिनै ४५ दिनपछि नियुक्ति पाएका थिए ।
उक्त रिटमा गत माघ ३० यता संवैधानिक इजलासमा हेर्दैहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा करिव एक दर्जन रिट निवेदनहरुको एकसाथ सुनुवाइ हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालका बेलामा संवैधानिक परिषदबाट ५२ पदाधिकारीहरुको सिफारिस गराएका थिए ।









