काठमाडौँ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्। संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसेकको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेहरू कांग्रेस संस्थापनइतर समूहका नेतृहरू हुन्।
‘पटक-पटक हामीले व्यक्तिगत र सामूहिक रुपमा बैठक बसी आवश्यक निर्णय गरेर पारदर्शी तवरमा संगठनको क्रियाकलापहरुलाई सञ्चालन गरौं र हामीले दिएको अवधिभित्रमा नै तोकिएको जिम्मेवारी सम्बोधन गर्न आग्रह गरेको छौं,’ राजीनामा पत्रमा भनिएको छ, ‘यी तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिला संघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौँ।’
राजीनामा दिनेमा चन्द्रादेवी जोशी, रीता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सीता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लीलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्य रहेका छन्।
राजीनामा दिने नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहका हुन्।









