काठमाडौं, ३ वैशाख । काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको रानी जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको लागि १३७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिनको लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
बैशाख २ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको रानी जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको लागि १३७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिनको लागि सैद्धान्तिक सहमति दिने, उल्लिखित ऋणसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै, साना सिँचाइ कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८.८ लाख स्वीस फ्रयाङ्क प्राप्त गर्ने, २०८२ वैशाख ५ गतेदेखि ११ गतेसम्म कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मालाई भारत भ्रमणको लागि स्वीकृति प्रदान निर्णय भएको छ ।
त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपालअन्तर्गतका बोर्डर आउटपोष्ट, गुल्म तथा विपद् ब्यवस्थापन वेशसमेतका १३ कार्यालयहरूको लागि जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने, नेपाली सेनातर्फ दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने र तीन जना सहायक रथीहरूको सरुवा गर्नेलगायतका निर्णय भएका छन् ।
मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई आगामी जेठ ८ मा चीनको बेइजिङमा हुने कार्यक्रममा सहभागी हुन र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेलाई आगामी वैशाख ९ र १० गते हङ्कङमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

















