राजेन्द्र लिङ्देनले भने- भाटभटेनीको लुटपाटमा कांग्रेस सहमहामन्त्रीकै छोरा पनि थिए, किन तुरुन्तै छाडियो



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको घटनामा सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्रीकै छोरा पनि पक्राउ परेको रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले भाटभटेनी लुटपाटको घटनामा नेपाली कांग्रेसका एकजना सहमहामन्त्रीका छोरा नै पक्राउ परेको बताए। पछि आफ्नै नेताका छोरा पक्राउ परेको थाहा पाएपछि छाडिएको उनले बताए।

लिङ्देनले भने हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्,’ ‘किन छाड्नुभयो तुरुन्तै ?’

त्यस्तै उनले बजेट अधिवेशन सुरु हुन लाग्दा बजेट फेरिपनि नेताहरुको गोजीबाट बन्ने र नेताहरुको निर्वाचन क्षेत्र केन्द्रीत हुने भन्दै आशंका व्यक्त गरे ।

उनले भने,‘बजेट अधिवेशन सुरु हुन लागेको छ । बजेट फेरीपनि नेताहरुको गोजीबाट बन्ने नै हो । नेताहरुको निर्वाचन क्षेत्र केन्द्रीत हुने नै हो । तर पनि कामना गर्छु सुधार होस् ,बजेट पुस्तिका च्यात्नुपर्ने विरोध गर्नुपर्ने नबनोस । अहिलको कमजोर अर्थतन्त्रलाई सम्बोधन गर्ने र सुधार गर्ने खालको बनोस् ।’

त्यस्तै उनले राजतन्त्रको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु रहेको भन्दै राजतन्त्र र प्रजातन्त्र एक अर्कोको विकल्प नभएको बताए । राप्रपाले राजसंस्थाको कुरा गर्नुु लोतन्त्रको विरुद्धको हो भन्ने गलत भाष्य नबनाउन पनि उनले आग्रह गरे

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ४६ बजे