सरकार र आन्दोलनरत शिक्षकबीचको वार्तामा भएन सहमती, आन्दोलन जारी रहने



काठमान्डौ । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ। आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक बिनानिस्कर्ष टुंगिएका हो।

यद्यपी, दुबै पक्ष फेरि वार्ताका लागि सहमत भएका छन्। छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए। बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने,‘ छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि फेरि बस्ने सम्बाद गर्ने निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन।’

तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाडौँमा २५ दिनदेखि आन्दोलनरत छन्।

शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ। सोही कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : ३९ बजे