काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थगित भएको छ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको हो।
चौधरी पक्राउ परेसँगै एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।
एकता घोषणा कार्यक्रमका लागि काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरी प्रतिष्ठान परिसरबाट नै पक्राउ परेका थिए। उनलाई सादा पोसाकमा गएका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको बताएको छ।
टीकापुर घटनामा राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते उनी जेलमुक्त भएका थिए। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए।
राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।









