काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टीका कार्यकर्ताहरूलेसमेत प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन्।
बुधवार हुने भनिएको एकता घोषणा कार्यक्रम बिथोलिएपछि उनीहरूले नाराबाजी गरेका हुन्।
उनीहरूले ‘नागरिक जनमत पार्टी जिन्दावाद’, ‘रेशम चौधरीलाई रिहा गर’ भन्दै सरकारविरुद्धमा नाराबाजी गरेका थिए।
चौधरी डिल्लीबजार कारागार चलान भएका छन्।
कार्यक्रमस्थलबाट नै रेशम चौधरी प्रकाउ परेसँगै एकताको कार्यक्रम स्थगित भएको छ।
पार्टीका नेताले सरकारले मधेस र थरूहटलाई एक ठाउँ आउन नदिनको लागि यो चाल चलेको आरोप लगाएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गर्ने कार्यक्रम थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको बताएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले रेशमलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले पक्राउ गरेको बताए।
चौधरीलाई काठमाडौँ प्रहरी परिसरको टोलीले नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै पक्राउ गरेको हो।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र एक बालकको ज्यान लिने गरी भएको हत्याकाण्डका मुख्य दोषी चौधरी ठहर भएका थिए। रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मैले जन्मकैद सजाय तोकेका छन्।
तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते उनी जेलमुक्त भएका थिए। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए।
राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।
चौधरीसँग मिल्दोजुल्दो प्रकृतिको मुद्दा रिगल भनिने योगराज ढकालको पनि थियो। राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगलको मुद्दामा सर्वोच्च अदालतले जन्मकैदको सजायमा मिनाहा नपाइने भन्दै स्वेच्छाचारी निर्णय नगर्न सरकारका नाममा आदेश जारी गरेको थियो। सोही नजिरलाई देखाएर रेशमलाई पक्राउ गरिएको हो।









