पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो, निवेदकको मागबमोजिम दिएन सर्वोच्चले आदेश



काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेशलाइ निरन्तरता दिनु नपर्ने आदेश गरेको छ।

न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले निवेदकको मागबमोजिम केवलकार रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब पाथीभरमा केवलकार बनाउन बाटो खुल्ला भएको छ।

पाथीभरामा केवलकार निर्माणको कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बूसमेतले सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो।

दुई पक्षको छलफलपछि न्यायाधीशद्वय सुवेदी र मुसलमानको इजलासले निवेदकको मागबमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

आइएमई ग्रुपको लगानीमा पाथीभरामा केवलकार निर्माणको काम अघि बढेको थियो।

प्रकाशित मिति : बैशाख ३१, २०८२ बुधबार  ७ : ५२ बजे