काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका, १८ जेठ – सामाजिक उत्तरदायित्व अन्तर्गत अपि पावर कम्पनी लिमिटेडले जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित आदर्श आधारभूत विद्यालय, बेहरा नहर क्याम्पमा अध्ययनरत ३५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
कम्पनीले विद्यार्थीहरूलाई झोला, कापी, कलम र जुत्ताको सहयोग प्रदान गरेको हो।
कार्यक्रममा कम्पनीकी अध्यक्ष श्रीमती सृजना खड्काले सभापतित्व गरेकि थिईन ।अपि पावरका कार्यकारी निर्देशक सञ्जिव न्यौपानेले कार्यक्रममा बोल्दै भने, “हामी सामाजिक उत्तरदायित्वलाई राष्ट्र निर्माणको आधारको रूपमा लिन्छौं। शिक्षा, स्वास्थ्य, पूर्वाधार र वातावरण संरक्षणमा निरन्तर योगदान दिने हाम्रो प्रतिबद्धता छ।”
अध्यक्ष खड्काले थप भनिन्, “हामी जहाँ आयोजना गर्छौं, त्यहाँको समुदाय र बालबालिकाको समग्र विकासलाई पनि ध्यानमा राख्छौं। अपि पावरको ऊर्जा उत्पादनसँगै सामाजिक विकास पनि सँगै अघि बढ्नेछ।”
कम्पनीका सञ्चालक द्वारिका न्यौपानेले विद्यार्थीहरूलाई भविष्यका इन्जिनियर, वैज्ञानिक र प्रशासकको रूपमा हेर्ने सपना बोकेको बताए। अर्का सञ्चालक मिलन खड्काले अपि पावर समाजप्रति उत्तरदायी रहँदै दिगो उर्जा समाधानमा केन्द्रित रहेको उल्लेख गरे।
स्थानीय प्रतिनिधिहरू र विद्यालय प्रशासनले पनि कम्पनीको योगदानको प्रशंसा गरेका छन्। विद्यालयका प्रधानाध्यापकले भने, “सीमित स्रोतमा चलिरहेको विद्यालयलाई यस्ता सहयोगले विद्यार्थीको आत्मबल उच्च बनाउँछ।”
अपि पावरले यसअघि सिमरा, धल्केबर र चन्द्रनिगाहपुरमा सौर्य परियोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने हाल पर्वानीपुरमा ८ मेगावाट क्षमताको आयोजना निर्माणमा जुटेको छ।














